कांग्रेस नेता अशोक कोइरालाको ७७ वर्षको उमेरमा निधन

मोरङ । नेपाली कांग्रेस नेता अशोक कोइरालाको आज बिहान निधन भएको छ ।

नेपाली कांग्रेस मोरङका पूर्वसभापतिसमेत रहेका ७७ वर्षीय कोइराला विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर समेत थिए । उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा निधन भएको हो ।

संविधानसभा सदस्य एवं राष्ट्रिसभाका पूर्वउपाध्यक्ष कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको पहिलो मेयरमा विजयी बनेका थिए ।

श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान २ बजेतिर अस्पताल लगिएकोमा उनको आज बिहान १ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

अशोक पूर्वप्रधानमन्त्री स्वर्गिय सुशील कोइरालाका सहोदर भाइ हुन् ।