बस दुर्घटनामा परी कम्तीमा १४ को मृत्यु

एजेन्सी । श्रीलङ्काको पासारामा बस दुर्घटनामा पर्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

अधिकारीहरूका अनुसार राजधानी कोलम्बोबाट करिब ३ सय ५७ किलोमिटर टाढा मोनेरागला–बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस शनिबार भीरबाट खसी भएको दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको हो । बसमा यात्रारत ३० व्यक्ति गम्भीर घाइते भएका छन् ।

घाइते यात्रुका अनुसार चालकको लापर्बाहीका कारण बस दुर्घटना भएको हो । मृत्यु हुनेहरूमा चालकसहित नौजना पुरूष र पाँच महिला रहेका अधिकारीहरूले बताएका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान शु्रू गरेको छ भने घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

श्रीलङ्कामा कमजोर सडक संरचना, पूराना सवारी साधन, चालकको लापर्बाही र क्षमताभन्दा अत्यधिक बढी भार लिएर सवारी चलाइने गर्दा बर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गर्छन् ।