प्रचण्ड र नेपालसँग चिनियाँ राजदूतले गरिन भेट

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेकी छिन् ।

सोमबार प्रचण्ड निवास खुमलटारमा राजदूत यान्छीले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसँग भेटवार्ता गरेकी हुन् ।

एमालेभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बेला वरिष्ठ नेता नेपाल र माओवादी अध्यक्ष दाहालसँग राजदूत यान्छीले गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

दुवै नेतासँगको भेटमा राजदूत यान्छीले पार्टी,सरकार र पछिल्लो राजनीतिक गतिविधिबारे चासो व्यक्त गरेकी थिइन् ।

राजदूत यान्छीले दुवै नेताहरुसँगको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी गर्नुका साथै कम्युनिष्ट सरकारलाई नै निरन्तरता दिन आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि राजदूत यान्छीले पुनः कम्युनिस्ट नेताहरुसँग भेटवार्तालाई सक्रियता दिन थालेकी छिन् ।

यसअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चर्किँदा राजदूत यान्छीले नेताहरुसँगको भेटवार्तालाई तीव्रता दिएकी थिइन् ।