बन्दुकधारी समूहको आक्रमणमा कम्तीमा ४० नागरिकको मृत्यु

निआमी (एएनआई) ।  बन्दुकधारीहरूको आक्रमणमा परी नाइजरमा कम्तीमा ४० नागरिक मारिएका छन् ।

अपरिचित बन्दुकधारीहरूले स्थानीय समय अनुसार आइतबार राति आक्रमण गर्दा उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

छिमेकी मुलुक मालीसँग सिमाना जोडिएको देशको पश्चिमी क्षेत्रमा पर्ने ताहौआका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको हो ।

घटना र क्षतिका बारेमा सरकारी अधिकारीहरूले पर्याप्त जानकारी नदिए पनि नाम सार्वजनिक नगरिदिने सर्तमा एक सुरक्षा अधिकारीले यो जानकारी दिएका हुन् ।

ठूलो सङ्ख्यामा मोटरसाइकलमा आएका आक्रमणकारीहरुले घरघरमा आगजनी गरेका थिए । आगजानीका कारण कतिपय घरहरु पनि जलेका छन् ।

घटना भएका क्षेत्रमा गत हप्ता पनि शंकास्पद आतङ्कवादीहरुले आक्रमण गर्दा ५८ जनाको मृत्यु भएको थियो ।

नाइजरमा पछिल्लो समय हिंसात्मक घटनामा बृद्धि भएको छ । आक्रमणमा परी आम नागरिकसँगै सुरक्षाकर्मीहरुको पनि मृत्यु हुने गरेको विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्था तथा सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।