प्रेमी–प्रेमिकाबीच आपसी झगडाका क्रममा आगो लगाउँदा दुबै जना घाइते

काठमाडौं । काठमाडौंको गोठाटारमा प्रेमी–प्रेमिकाबीच आपसी झगडाका क्रममा आगो लगाउँदा दुबै जना घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले घाइतेहरु दुई जना नै प्रेमी–प्रेमिका रहेको र उनीहरुबीच विवाद हुँदा आगो लगाएर घाइते भएको जानकारी दिए ।

एसपी बस्नेतका अनुसार काठमाडौंको गोठाटारमा कोठा गरी बस्ने सोलुखुम्बुकी १८ वर्षीया युवतीको कोठामा सो घटना भएको हो ।

जोरपाटी घर भएका सुरज श्रेष्ठ युवतीको कोठामा पुगेका थिए । युवतीको कोठामा आपसी विवादका क्रममा युवकले मट्टितेल छर्किएर ‘युवतीलाई पनि मार्ने र आफूपनि मर्ने’ भन्दै आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एपी बस्नेतले बताए ।

आगोले युवतीको अनुहार लगायत माथिल्लो भाग जलेका कारण कीर्तिपुरस्थित फेक्ट अस्पतालमा उपचार भइरहेको छ भने युवकको पेटको भाग सामान्य जलेकाले जोरपाटीस्थित शुष्मा कोइराला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।