रेड पाण्डाको छालासहित तीन जना पक्राउ

सोलुखुम्बु। रेडपाण्डा (रातो हाब्रे)को सात थान छालासहित प्रहरीले तस्करीमा संलग्न तीन जनालाई सोलुखुम्बुबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी कवित कटवालका अनुसार मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको चोरी शिकार गरी मार्ने, आखेटोपहार लुकाइछिपाई राखी खरिदबिक्री तथा ओसारपसार गर्ने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई महाकुलुङ गाउँपालिकाबाट पक्राउ गरेको हो ।

कटवालले भने, ‘हामीलाई आएको विशेष सूचनाका आधारमा परिचालित प्रहरी निरीक्षक मन्दीप चौहानको टोलीले सात रेडपाण्डाको छालासहित तीन जनालाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट रेडपाण्डा मार्न प्रयोग गर्ने पासो पनि बरामद गरिएको छ ।’

छाला र पासोसहितका उनीहरुलाई घरैबाट सोमबार साँझ पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा महाकुलुङ –२ का ७६ वर्षीय जगतबहादुर राई, महाकुलुङ–३ का ५६ वर्षीय कवीर शङ्कर राई र ५७ वर्षीय मितुरधन राई रहेका छन् ।

पक्राउ गरिएको यो समूहका व्यक्ति रेड पाण्डाको शिकार गर्नेदेखि सप्लाई गर्ने सम्म रेहेको डिएसपी कटवालले बताए । कटलालले भने, ‘हामीले पक्राउ गरेको समूहमा पासो थापेर रेड पाण्डाको सिकार गर्नेदेखि चीनतर्फ सप्लाई गर्ने सम्मका व्यक्ति रहेको अनुसन्धानबाट खुलेको छ ।’

पक्राउ गरिएका तीनै जनालाई कानूनी कारवाहीका लागि राष्ट्रिय निकुञ्ज पठाइएको डिएसपी कटलावले बताए ।