मौसम परिवर्तनको असर : बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्यामा वृद्धि

बैतडी । पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेको छ ।

जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेका हुन् । पछिल्लो केही दिनयता भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्दै गएका जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक वसन्तराज जोशीले जानकारी दिए ।

केही दिनयता भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको पाटन नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख मदनसिंह महराले जानकारी दिए । उनले भने, ‘मौसममा आएको परिवर्तनका कारण ज्वरोका बिरामी बढ्दै गएका छन्, यो बेला सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्छ ।’

मौसममा आएको परिवर्तनका कारण हाल दैनिक ३० जनासम्म ज्वरो रुघाखोकीका बिरामी स्वास्थ्य संस्थामा आउने गरेका श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताए । उनले भने, ‘मौसममा परिवर्तन आएको छ, धुलोधुवाँले गर्दा, पहिलाको तुलनामा आजभोलि बिरामीको सङ्ख्या बढेका छन् ।’

यस्तै, जिल्लाको तल्लोस्वराड क्षेत्रमा पनि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रमा दैनिक एक सयको हाराहारीमा ज्वरोका बिरामी आउने गरेका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए । उनले भने, ‘उपचारका लागि आउने बिरामीमध्ये अधिकांशमा भाइरल ज्वरोको प्रकोप देखिएको छ ।’