साताको तेस्रो दिन सेयरबजारमा हरियाली

काठमाडौं । आइतबारको सार्वजनिक बिदापछि सोमबारबाट खुलेको सेयर यो साताको दोस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १ प्रतिशतभन्दा माथिले वृद्धि भएको छ । सोमबार २५४३.५३ अंकमा बन्द भएको नेप्से मंगलबार प्रि–ओपन सेसनमा सामान्य बढेर २५४५.५४ अंकमा खुलेको थियो ।

सुरुवात बाटै लगातार बढ्दै गएको बजार परिसूचक ३२.१५ अंकले वृद्धि भएर २५७५.६७ अंकमा बन्द भएको छ । फागुन ९ गते २६४० अंकको ऐतिहासिक उचाइमा पुगेर फागुन ११ गते २६०० अंकको बिन्दुबाट झरेको थियो । त्यसपछि २४०० अंकको बिन्दुबाट तर भरेर दुई साता अगाडि बढ्न थालेको नेप्सेले पुुनः २६०० अंकको बिन्दु पछ्याएको छ ।

आज नेप्सेमा उत्पादन उपसूचक सामान्य घटे पनि त्यसबाहेक अन्य सबै उपसूचकमा हरियाली छाएको छ । हाइड्रोपावर उपसूचक सवार्धिक ४.१४ प्रतिशतले वृद्धि हुँदा होटेल तथा पर्यटन उपसूचक ३.२५ प्रतिशत, निर्जीवन बिमा उपसूचक ३.०८ प्रतिशत र लघुवित्त उपसूचक ३.२ प्रतिशतले बढेको छ ।

बजार परिसूचकसँगै मंगलबार कारोबार रकम पनि बढेको छ । सोमबार साढे ४ अर्बमा सिमित कारोबार रकम मंगलबार ६ अर्ब नाघेको छ । आज नेप्सेमा ६८ हजार ६४५ वटा कारोबारमा २०९ कम्पनीको १ करोड २२ लाख ९ हजार ९७६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १८ करोड ५६ लाख ८० हजारको कारोबार भएको छ ।

कारोबार रकममा वृद्धि हुँदा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कारोबार रकमको नेतृत्त्व लिएको छ । बैंकको ४८ करोड ९४ हजारको कारोबार हुँदा निर्धन उत्थान लघुवित्तको ४३ करोड ६९ लाख २८ हजार, एनएलजी इन्स्योरेन्सको ३३ करोड १६ लाख ५१ हजार, अपर तामाकोसीको २८ करोड ९७ लाख १८ हजार र हाइड्रोइलेक्ट्रीसिटी एन्ड डेभलपमेन्ट कम्पनीको २८ करोड १६ लाख २१ हजारको कारोबार भएको छ ।

बजार परिसूचक हरियाली हुँदा ४ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा वोमी लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स रहेका छन् । यस्तै समिट लघुवित्त र स्वाभिमान लघुवित्तको सेयर मुल्य पनि ९ प्रतिशत माथिले बढेको छ ।

यता, युनाइटेड इदी मार्दि एन्ड आबी कम्पनीको सेयर मुल्य ५.३३ प्रतिशतले ओरालो लाग्दा नेपाल इन्फ्रास्ट्रचर बैंकको सेयर मुल्य २.३१ प्रतिशतले घटेको छ । सूचिकृत १२५ कम्पनीको सेयर मुल्य बढ्दा ३३ कम्पनीको घटेको छ भने २० कम्पनी स्थिर भएका छन् ।