होली खेल्ने क्रममा झडपमा १ जनाको मृत्यु

वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–२३ भतौडामा होली खेल्ने क्रममा भएको विवादका क्रममा झडप हुँदा एक महिलाको मृत्यु भएको छ ।

स्थानीय ६५ वर्षीया सन्जा देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।  सोमबार भएको झडपमा अन्य ६ जना सामान्य घाइते भएका छन् । स्थानीय गिर्जा देवी, रामदेव शाह, राजेश साह, विन्देशवर साह, अम्बिका साह, रामप्रसाद साह सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धानका लागि प्रहरीले चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । ‘झडपकै क्रममा उनको मृत्यु भएको भनिएको छ, शरीरमा बाहिरी चोटपटक देखिंदैन,’ उनले भने, ‘अन्य केही सामान्य घाइते भएकोले झडप त भएको बुझिन्छ, के कसरी झगडा भयो ? कसले हान्यो ? त्यसबारेमा अनुसन्धान गरिरहेका छौं ।’

उनले मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने जानकारी दिए । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।