बैठक शुरू नहुँदै बाहिरिए प्रधानमन्त्री ओली

काठमाडौँ । गत फागुन २३ गते प्रतिनिधिसभाको सातौँ अधिवेशन शुरू भए यता बुधबार सम्ममा ६ वटा बैठक भए ।

अधिवेशनको पहिलो दिन संसद भवन, नयाँ वानेश्वर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली बैठक शुरू नहुँदै बाहिरिए । अर्को एउटा बैठकको दिन पनि संसद भवन पुगेका थिए । त्यस दिन पनि उनी बैठक शुरू नहुँदै बाहिरिए ।

प्रधानमन्त्री ओली पुनर्स्थापित प्रतिनिधिसभाका हालसम्मका बैठकमा सहभागी भएका छैनन् । बुधबार मुख्य विपक्षी दल नेपाली कांग्रेसका सदस्य दिलेन्द्रप्रसाद बडुले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री उपस्थित नहुनुको कारण माग गरेका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बडुले केही दिनअघि प्रधानमन्त्री ओलीले आफूमाथि सुरक्षा खतरा रहेको र भौतिक आक्रमण हुुन सक्ने बताएको तर्फ ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीको सुरक्षा व्यवस्थाबारे गृहमन्त्रालयले गरेको थप प्रबन्धबारे संसदमा जानकारी गराउन माग गरे । उनले भने, ‘प्रधानमन्त्रीको सुरक्षा व्यवस्थाबारे प्रधानमन्त्री, गृहमन्त्री वा सरकारको प्रवक्ताले संसदमा यथाशीघ्र स्पष्ट पार्नुपर्छ भन्ने माग गर्दछु ।’

बडुले प्रधानमन्त्री ओली संसद बैठकमा उपस्थित नहुनुमा सुरक्षा खतरा हो कि नैतिक खतरा हो भन्ने प्रश्न पनि उठाए । उनले भने, ‘संसद बैठक चलिरहेको छ, प्रधानमन्त्री उपस्थित नहुनु सुरक्षा खतरा नै हो ? वा नैतिक खतरा हो ? ’

बडुले सुरक्षा खतरा छैन भने प्रधामन्त्रीले गैरजिम्मेवार कुरा गरेको आरोप लगाए । उनले भने, प्रधानमन्त्रीले आफ्नो देशको सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्ने गरी गैरजिम्मेवार, असत्य र बनावटी कुरा किन गर्नुभयो ?’