इजिप्टका पूर्वप्रधानमन्त्री गान्जौरीको ८८ वर्षको उमेरमा निधन

कायरो (सिन्ह्) । दुई पटक इजिप्टको प्रधानमन्त्री भएका गान्जौरीको ८८ वर्षको उमेरमा बुधबार निधन भएको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ ।

लामो समयदेखि बिरामी भएर उपचार गराएका गान्जौरीको एयर फोर्स हस्पीटलमा निधन भएको हो ।

उनको निधनप्रति राष्ट्रपति अब्दुल फताह अल सिसिले गहिरो दुःख व्यक्त गरेका छन् । आफ्नो देश र जनताप्रति अति प्रतिबद्ध नेताको रूपमा उनले पूर्वप्रधानमन्त्री गान्जौरीलाई स्मरण गरेका छन् ।

गान्जौरीले सन् १९९६ देखि १९९९ सम्म तत्कालीन राष्ट्रपति होस्नी मुवारकअन्तर्गत रहेर प्रधानमन्त्रीका रूपमा काम गरेका थिए ।

दोस्रो पटक भने सन् २०११ मा उनी प्रधानमन्त्री बनेका थिए । त्यसपछि सन् २०१३ मा उनलाई राष्ट्रपतिको आर्थिक मामिला सल्लाहकारमा नियुक्त गरिएको थियो ।