रुपन्देहीमा वडा सदस्यले घुस लिएको भन्दै तालाबन्दी

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा जनप्रतिनिधिले घुस लिएको आरोपमा नेपाली कांग्रेसले वडा कार्यालयमा ताला लगाइदिएको छ ।

नागरिकता बनाइदिन्छु भनेर वडा नं.२ का वडा सदस्य थानेश्वर गिरीले १० हजार रुपैँया घुस लिएको आरोपमा कांग्रेसले तालाबन्दी गरेको हो ।

स्थानीय भरतप्रसाद थारूका छोराको नागरिकता बनाइदिन उक्त रकम वडा सदस्यले घुस लिएको कांग्रेसको आरोप छ । नेपाली कांग्रेस सैनामैना वडा नं. २ का सभापति तुल्सीप्रसाद घिमिरिले घुस लिने वडा सदस्यलाई कारबाही नभएसम्म ताला नखोल्ने बताए । गिरीविरुद्ध थारू परिवारले यही चैत १५ गते वडा कार्यालयमा निवदेन दर्ता गराएको थियो ।

वडा कार्यालयले उक्त निवेदन बेवास्ता गरेको कांग्रेसको आरोप छ । वडा सदस्य गिरीले शुरूमा २० हजार रुपैँया मागेको र पछि १० हजारमा झरेको भरतप्रसादले बताए ।

भरतप्रसादका अनुसार वडा सदस्य गिरीले नागरिकता बनाउन पैसा लाग्छ भनेका थिए । पैसा नलाग्ने थाहा पाएर आफूले माग्दा नदिएपछि उजुरी गरेको उनको भनाइ छ ।

आरोपित वडा सदस्य गिरीले आफूले घुस नमागेको र नलिएको जिकिर गर्दै आरोप प्रयोजित भएको बताए । वडाध्यक्ष कामदेव भुसालले चाँडै छानविन गरेर कारबाही प्रक्रिया अघि बढाउने बताए ।