बलिउड अभिनेत्री शशिकलाको ९४ वर्षको उमेरमा निधन

मुम्बई । सन् ७० को दशकको चर्चित अभिनेत्री शशिकलाको आइतबार निधन भएको छ ।

९४ वर्षीया अभिनेत्रीले शुक्रबार दिउँसो दुई बजे निधन भएको हो । अमर उजालामा प्रकाशित समाचारअनुसार उनले करिब सय बलिउड फिल्ममा काम गरेकी थिइन् । यद्यपि पछिल्लो दशकमा उनी बलिउडमा टाढिएकी थिइन् ।

उनको पूरा नाम शशिकला जावलर हो । उनी एक मराठी परिवारकी सदस्य हुन् । बलिउडमा अभिनयसँगै सुन्दरताले पनि लोकप्रियता कमाएकी यी अभिनेत्रीको जन्म अगष्ट ४, १९३४ मा भएको थियो ।

शशिकलाको जीवन निधै उतारचढावपूर्ण रह्यो । उनले फिल्ममा अभिनेत्रीसँगै नकारात्मक भूमिकामा आफूलाई प्रस्तुत गरिन् ।  अभिनेत्री बन्नुअघि उनले बाध्यताले विभिन्न व्यक्तिको घरमा सहयोगीको रुपमा काम गरेकी थिइन् ।

शशिकलाको पहिलो फिल्म ‘जीनत’ थियो, जसलाई नूर जहाँका पति शौकत रिजवीले बनाएका थिए । यो फिल्मका लागि उनले २५ रुपैंयाँ पारिश्रमिक लिएकी थिइन् ।  फिल्ममा सफलता पाउदै गएपछि उनले अभिनेता केएल सहगलका आफन्त ओमप्रकाश सहगलसँग विवाह गरिन् । दुई छोरीलाई जन्मदिएपछि ओमप्रकाश र शशिकलाको झगडा भयो ।

शशिकलाले ‘तीन बत्ती चार रास्ता’, ‘हमजोली’, ‘सरगम’, ‘चोरी चोरी’, ‘नीलकमल’, ‘अनुपमा’लगायतका फिल्ममा अभिनय गरेकी थिइन् ।  फिल्मसँगै उनले टेलिभिजन अभिनयलाई पनि निरन्तरता दिएकी थिइन् । नउी प्रख्यात सिरियल ‘सोन परी’मा फ्रूटीको हजुरआमाको भूमिकामा देखिएकी थिइन् ।