मुख्यमन्त्रीको राजीनामा माग गर्दै वाग्मती प्रदेशसभा अवरुद्ध

हेटौंडा । नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा माग गर्दै वाग्मती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । झण्डै डेढ महिनापछि बसेको बैठकमा माओवादी केन्द्रले मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएको थियो ।

माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले सरकार भावानात्मक, सांगठनिक र वैचारिक रुपमा एक्लिएको बताउँदै मुख्यमन्त्रीको राजीनामा माग गरेका हुन् ।

उनले सरकारले पछिल्लो समय गुटको राजनीति गर्न राज्यकोषको पैसा खर्च गरिरहेको आरोप लगाएका छन् । उनले मदन भण्डारी फाउन्डेसनलाई प्रदेश सरकारले दिएको ५० लाख रुपैयाँको औचित्य पुष्टि गर्नसमेत सरकारलाई चुनौती दिए । प्रदेशसभाको बैठक बुधबार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।