दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय क्रिकेटमा पाकिस्ताको जित

काठमाडौँ । दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज पाहुना टोली पाकिस्तानले आफ्नो पक्षमा पारेको छ ।

सेन्चुरीयनमा बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रीकालाई २८ रनले हराउँदै पाकिस्तानले सिरिज २-१ ले जितेको हो ।

पाकिस्तानले दिएको ३ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीका ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ९२ रनमा समेटियो ।

दक्षिण अफ्रीकाका लागि जन्निमान मालनले ७० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् ।

यस्तै केली भेरीनीले ६२ रन जोड्दा एडिलेले ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।

पाकिस्तानका सहिन साह अफ्रिदी र मोहमद नवाजले ३/३ विकेट लिए । हरिस राउफले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २० रन बनाएको थियो ।

पाकिस्तानका फखर जमानले १ सय १ रनको शतकीय इनिङ्स खेले । उनले दक्षिण अफ्रीकाविरुद्ध लगातार दोस्रो शतक बनाएका हुन् । जमान प्लेयर अफ दि सिरिज घोषित भए ।