ओलीलाइ माधव नेपालको प्रश्न ‘हामी सबै पदाधिकारीको पद चैट हुने तपाइको बाँकी रहने ? ’

विराटनगर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधि र विधान विपरीत काम गरेको आरोप लगाएका छन् ।

शुक्रबार विराटनगरमा नेता नेपालले आफू खुसी काम गर्दै आएका ओलीका सबै कुरा आफूहरुले नमान्ने उल्लेख गरे । उनले आफूहरू केपी ओलीको दास नभएको पनि बताए । नेता नेपालले विधानविपरीत काम गर्ने ओलीलाई साथ दिनेहरू दास भएको टिप्पणी गरे ।

ओली प्रति निक्कै आक्रोशित देखिएका नेता नेपालले भने, ‘हामी सबै पदाधिकारीको पद चैट हुने ओलीको बाँकी रहने ? यस्तो पनि कही हुन्छ ? ’  ओलीले पूरै अवैधानिक कदम चालेको बताउँदै नेपालले भने, ‘उहाँले विधान र विधिविपरीत काम गर्नु भएको छ । विधानविपरीत कामगर्ने कुरालाई पनि साथ दिने दास हुन् । हामी दास होइनौँ । हामी ओलीको मुख हेरेर अगाडि बढेका होइनौं ।’

उनले ओलीमा असहिष्णुताको प्रवृति चरम पराकाष्ठमा पुगेको आरोप लगाए । उनले भने, ‘उहाँका भक्तजन, भजनमण्डली बाहेक अरु कसैलाई उहाँ सहन गर्नुहुन्न । उहाँमा असहिष्णुताको प्रवृति चरम पराकाष्ठामा पुगेको छ । उहाँ एक्लिँदै जानु भएको छ ।’