यसकारण चीन सरकारले अलिबाबालाई तिरायो तीन अर्ब डलर जरिवाना

शाङ्घाई (एएफपी) । चिनियाँ नियामक निकायले ई–कमर्शको क्षेत्रमा विश्वचर्चित कम्पनी अलिबाबामाथि २ अर्ब ७८ करोड डलर जरिवाना गरेको छ ।

एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा चीन सरकारले अलिबाबामाथि कारबाही गरेको हो । चीनको नियामक निकाय “बजार नियमन सम्बन्धी राज्य प्रशासन (एसएएमआर)” ले गत डिसेम्बरमा अलिबाबामाथि शुरु भएको अनुसन्धानका आधारमा उक्त जरिवाना गर्नु परेको निष्कर्ष सार्वजनिक गरेको छ ।

अलिबाबाको प्लेटफर्मबाट सामान बिक्री गर्न चाहने कैयौं व्यवसायीलाई अलिबाबाले जानाजान प्रवेश नदिएर बजारमा आफू र आफ्ना निकटका केही कम्पनीलाई मात्र पहुँच दिएको अनुसन्धानबाट भेटिएको नियामक निकायको भनाई छ । एसएएमआरका अनुसार सन् २०१५ देखि अलिबाबा समूहले आफूलाई अनुचित लाभ लिनेगरी आफ्नो शक्तिको दुरुपयोग गरेको पाइएको छ ।

कम्पनीको यस्तो व्यवहारले प्रतिस्पर्धा र नवीनतालाई सीमित गरेको छ एवं व्यवसाय तथा उपभोक्ताको अधिकार र रुचिलाई उल्लङ्घन गरिदिएको नियामक निकायले जनाएको छ । ब्लुमबर्गका अनुसार अलिबाबामाथि गरिएको यो जरिवाना आजसम्मकै सबैभन्दा ठूलो हो । सन् २०१५ मा क्वालकममाथि झण्डै एक अर्ब डलरको जरिवाना गरिएको थियो ।

अलिबाबामाथिको उक्त जरिवाना कम्पनीले सन् २०१९ मा गरेको कूल बिक्रीको करिब चार प्रतिशत हो । सन् २०१९ मा अलिबाबाले चार खर्ब ५६ अर्ब युआन बराबरको सामान बिक्री गरेको थियो । अलिबाबाले सामाजिक सञ्जालमा जरिवानाका सम्बन्धमा स्पष्ट गर्दै सरकारले लगाएको जरिवाना तिर्न बुझाउन राजी भएको जनाएको छ ।

साथै कम्पनीले सरकारका नियमहरु पूर्ण पालना गरी सामाजिक उत्तरदायित्व निर्वाहका साथ व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाएको छ । अलिबाबा र अन्य अग्रणी चिनियाँ प्रविधि कम्पनीहरुमाथि पछिल्ला केही समयदेखि चीन सरकारले छानबिन शुरु गरेको थियो । खासगरी चीनका ठूला कम्पनीले चीन सरकारका नीति नियममाथि दबाब बढाउन थालेपछि अनुसन्धान थालिएको हो ।

आजभोलि चीनका करोडौं नागरिक चिनियाँ प्रविधि कम्पनीहरुको प्रयोग गरिरहेका छन् । ग्राहकहरुले एकआपसमा सञ्चार गर्न, सामान खरिद गर्न, बिल भुक्तानी गर्न, ट्याक्सी खोज्न, ऋण लिन एवं अन्य अनेक किसिमका दैनिक काममा यिनै विशाल प्रविधि कम्पनीहरुको प्रयोग गर्न थालेका छन् ।

तर अलिबाबामाथि चीन सरकार निकै बढी क्रुद्ध भएको थियो । गत अक्टोबरमा अलिबाबाका सहसंस्थापक ज्याक मा ले चिनियाँ नियामक निकायको व्यवहारलाई लिएर आलोचना गरेपछि अलिबाबामाथिको छानबिनलाई तिब्र बनाइएको थियो ।

अलिबाबाले स्थापना गरेको अर्को कम्पनी एन्ट ग्रुपको शेयर जारी गर्ने प्रक्रिया चीन सरकारले अबरुद्ध गरिदिएपछि ज्याक मा बढी नै आक्रोशित हुनु भएको थियो ।

ई–कमर्श क्षेत्रका विशाल कम्पनीहरु अलिबाबा र जेडी डट कम तथा टेन्सेन्टले चिनियाँ जीवनशैलीमै निकै प्रभाव सिर्जना गरिसकेका छन् ।

अमेरिकी प्रतिस्पर्धी कम्पनीलाई चीनले आफ्नो बजारमा प्रवेश नदिएपछि अलिबाबा समेतका चिनियाँ कम्पनीले देशभित्रको ठूलो बजारबाट राम्रै फाइदा लिइरहेका छन् ।

चिनियाँ कम्पनीहरुले उपभोक्ताका निजी विवरण सङ्ग्रह गरेको भनेर विवाद उत्पन्न भइरहेका समयमा अमेरिकी ठूला प्रविधि कम्पनीहरु फेसबुक, गूगल माथि पनि देश भित्र र बाहिर छानबिन र अनुसन्धान जारी छन् ।