चितवनमा म्याजिक भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई पल्टिँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा सातजना घाइते भएका छन् ।

आइतबार बिहान भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना १ ज ६८५९ नम्बरको म्याजिक भ्यान अनिन्त्रित भएर कल्भर्टको डिलमा ठोक्किएर पल्टिँदा ४५ र ५५ वर्षीय दुईजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुको नाम र ठेगाना भने खुल्न नसकेको जनाइएको छ ।

तीमध्ये ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते सातमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चारजनाको उपचार भइरहेको छ ।  घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।