अहिले पनि पार्टीबाट निष्कासन गरेका छैनौं ,आत्म आलोचना गरेर फर्किनुस् : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्म आलोचना गरेर पार्टीमा फर्किन वरिष्ठ नेता माधवकुमार नेपाललाई सुझाव दिएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले गुटबन्दी गरेर आउनेलाई स्वीकार गर्न नसकिने बताए ।

आत्म आलोचना गरेर फर्किने नेतालाई पार्टीमा स्वागत गर्ने उनको भनाइ छ ।  ‘अहिले पनि पार्टीबाट निष्कासन गरेका छैनौं । आत्म आलोचना गरेर फर्किनुस्, पार्टीमा विना भेदभाव काम गर्न दिन्छौं,’ ओलीले भने ।

अब पार्टीमा गुटबन्दी नचल्ने ओलीले दाबी गरे । उनले भने,‘पार्टीले समूहगत रुपमा डिल गर्दैन् ।’  नेपालले अहिलेसम्म गरेका ‘अपराधपूर्ण काम’को आत्म आलोचना गर्नुपर्ने ओलीले बताए । नेता नेपालका गतिविधिहरुलाई आफूले अहिले पनि नियालिरहेको बताउँदै भने, ‘म सीमा हेरिरहेको छु, पार्टीलाई ध्वस्त पार्न खोजे ठीक हुँदैन ।’