साताको चौथो दिन बुधबार शेयर बजार ओरालो

काठमाडौँ । साताको चौथो दिन बुधबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।

मंगलबार तीब्र उतारचढावबीच सामान्य अंकले हरियो रहेर थामिएको शेयर बजार बुधबार दोहोरो अंकको गिरावट आएको हो । आज नेप्से ३२ अंकले ओरालो लागेर २६ सय ३२ मा झरेको हो ।

आज ठूला तथा बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६.२१ अङ्कले घटेर ४७३.४० बिन्दुमा झरेको छ ।

बुधबार कूल २१४ कम्पनीको ६६ हजार ४८० पटकको व्यापारमा एक करोड ३७ लाख ८७ हजार २१८ कित्ता शेयर खरिदबिक्री भएका छन् भने ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

नेप्से परिसूचक घटेसँगै बजार पूँजीकरण रकममा समेत गिरावट आएको छ । आजको बजार पूँजीकरण रकम ३६ खर्ब ४४ अर्ब ८२ करोडमा सीमित भएको हो ।

यसदिन म्युचुल फण्ड समूहको परिसूचक ०.१२ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक ओरालो लागेको छ ।

बुधबार बैंकिङ् समूहको परिसूचक १.३६ प्रतिशत, विकास बैंक समूहको २.१० प्रतिशत, वित्त समूहको १.५९ प्रतिशत, लघुवित्तको १.०७ प्रतिशत, निर्जीबन बीमाको १.१७ प्रतिशत र जीवन बीमा शेयरमूल्य ०.८४ प्रतिशतले घटेको छ ।

त्यस्तै, हाइड्रोपावर समूहको १.१५ प्रतिशत, लगानी समूहको १.४२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १.४८ प्रतिशत र व्यापारिक समूहको परिसूचकमा १.२२ प्रतिशतको गिरावट आएको छ ।