अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु

मुम्बई । कोभिड–१९ उपचारका लागि तोकिएको भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन चुहावटका कारण आपूर्तिमा समस्या आउँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

मुम्बईबाट करिब २०० किलोमिटर उत्तरमा रहेको डा.जाकिर हुसैन अस्पतालमा अक्सिजन चुहावटका कारण भेन्टिलेटरमा रहेका विरामीलाई अक्सिजन आपूर्तिको गम्भीर अभावले यो त्रासदीपूर्ण घटना भएको हो ।

नासिकमा रहेको उक्त अस्पताललाई अक्सिजन आपूर्तिका लागि राखिएको ट्याङ्करमा करिब आधा घण्टा चुहावट भएको जनाइएको छ ।

यसै कारण अस्पतालमा अक्सिजनको अभाव हुँदा विरामीको मृत्यु भएको स्थानीय अधिकारी सूरज मन्धारेले सञ्चारकर्मीहरूसँगको कुराकानीमा बुधबार बताए । उक्त समस्याका कारण करिब ६० गम्भीर विरामीको स्वास्थ्यमा प्रभाव परेको बताइएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत् एक सन्देश लेख्दै भनेका छन्, “भारतको कोभिड–१९ बाट प्रकोपको केन्द्रबिन्दु महाराष्ट्र राज्यमा भएको अक्सिजन चुहावटपछि विरामीको मृत्यु भएको भनिएको घटना हृदयविदारक त्रुटी हो ।’