भारतमा एकैदिन ३ लाख ३२ हजारमा संक्रमण, २२५६ को मृत्यु

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार दोस्रो दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ लाख ३२ हजार ५०३ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।

यसअघि (सोमबार) वैशाख ९ मा भारतमा दोस्रो धेरै ३ लाख १५हजार ८०२ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ६२ लाख ५७ हजार ३०९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ३६ लाख ४१ हजार ६०६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २४ लाख २८ हजार ७७५ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८६ हजार ९२८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार २५६ जनाको मृत्यु भएको छ ।

 

भारतको राजधानी नयाँ दिल्लीमा मात्रै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ३०६ जनाको मृत्यु भएको छ ।

योसँगै दिल्लीमा मात्रै कोरोनाले मृत्यु हुनेको संख्या १३ हजार १९३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप २६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । योसँगै दिल्लीमा सक्रिय संक्रमितको संख्या ९१ हजार ६१८ पुगेको छ ।

संक्रमण बढेपछि दिल्लीमा एक हप्ताको लकडाउन गरिएको छ।

सङ्क्रमण बढेपछि भारतको महाराष्ट्र राज्यमा पूर्ण लकडाउन घोषणा गरिएको छ ।

आउँदो मे १ तारिखसम्मका लागि लकडाउन घोषणा गरिएको हो । संक्रमणमा दैनिक नयाँ रेकर्ड हुँदै गएको भारतमा केरला, उत्तर प्रदेश, दिल्ली, गुजरातलगायत राज्य सबैभन्दा धेरै प्रभावित भएका छन् ।