बागलुङको विद्यालय एक सातालाई बन्द

पोखरा । विद्यालयमा कोरोना जोखिम बढेको भन्दै बागलुङ नगरपालिकाले सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

बागलुङ नगरपालिकाले नगरप्रमुख जनकराज पौडेलको अध्यक्षतामा बसेको बैठकले वैशाख १२ गतेदेखि लागू हुनेगरी सम्पूर्ण शिक्षण बन्द गर्ने निर्णय गरेको हो ।

शैक्षिक संस्था, ट्युसन, भाषा तयारी कक्षा तथा कोचिङ कक्षाहरु वैशाख १९ गते सम्म बन्द गर्ने निर्णय गरेको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को महामारी नेपालमा पनि बढ्दै गइरहेको र महामारीबाट बालबालिकाहरू बढी प्रभावित भएकाले सचेतना अपनाउनका लागि विद्यालय बन्द गर्नु परेको नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिकाले शुक्रबार एक सार्वजनिक सूचना मार्फत आइतबार वैशाख १२ गतेदेखि १९ गते सम्मका लागि नगरभित्रका सबै विद्यालय बन्द गर्न आव्हान गरिएको छ ।

विद्यार्थीहरूलाई सुरक्षित राख्ने उद्देश्यले एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका शिक्षा अधिकारी डण्डपाणी शर्माले बताए ।

बागलुङ नगरपालिकाकै बलेवा क्षेत्रका विद्यालयका बालबालिकामा कोरोना संक्रमण देखिएको भन्दै बलेवा क्षेत्रका ३ वटा वडामा दश दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।