एकैदिन देशभर थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि,१२ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३४४२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१२ हजार ४०० जनाको पीसीआर र ८९३ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ३५ हजार ६१ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।  योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार ९५१ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १२जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १७६ पुगेको मन्त्रालयले जानकारी दिएको छ । काठमाडौँ उपत्यकामा मात्रै थपिए १९१२ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १५६७, भक्तपुरमा १२२ र ललितपुरमा २२३ जनामा गरी कुल १९१२ जना थपिएको जानकारी दिएका हुन् । यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १४९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।