एकैदिन देशभर ४ हजार ९२८ कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ८३१ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१२ हजार ५८७ जनाको पीसीआर र ९६३ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।  मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ५६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १ हजार १२७, भक्तपुरमा १८२ र ललितपुरमा २५२ जनामा गरी कुल १ हजार ५६१ जना थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १९६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।