चितवन निकुञ्जको सुखिभार क्षेत्रमा मृत भेटियो भाले गैंडा

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मृत अवस्थामा भेटिएको छ।

बिहीबार सुखिभार कम्प्लेक्स बुढी राप्ती फाटा क्षेत्रमा अन्दाजी ३० वर्षको भाले गैंडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए। निकुञ्ज प्राविधिकको नियमित निगरानीमा रहेको उक्त गैंडा बिहीबार बिहान मृत भेटिएको अधिकारीले बताए।

अधिकारीले गैंडाको मृत्यु प्राकृतिक कारणले भएको अनुमान गरिएको बताए। मृत गैंडाको खाग, खुर सुरक्षित भेटिएको थियो।

आर्थिक वर्ष २०७७/०७८ मा चितवन राष्ट्रिय निकुञ्जमा ३१ वटा एक सिंगे गैंडाको मृत्यु भइसकेको छ। ती मध्ये ४ वटालाई सिकारीले मारेका थिए। पछिल्लो गणनाको तथ्यांकअनुसार चितवन निकुञ्जमा ६९४ गैंडा भेटिएका थिए। ती मध्ये सबैभन्दा बढी सुखिभार क्षेत्रमा भेटिएका थिए।