भारतमा एकैदिन थपिए ३ लाख ८६ हजार संक्रमित,३ हजार ५०१ जनाको मृत्यु

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ५०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ८ हजार ३१३ पुगेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ३ लाख ८६ हजार ८२९ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो ।

यसअघि हिजो ३ लाख ७९ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ८७ लाख ५४ हजार ९२५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ५३ लाख ६९ हजार ३६२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३१ लाख ७७ हजार २५० छ ।  यसैबीच मृतकको संख्या बढ्दै जाँदा भारतको नयाँ दिल्लीमा अन्तिम संस्कारका लागि ठाउँ अभाव हुन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।