उपत्यका कोरोना अपडेट : एकैदिन ३५ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३५ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २ हजार ७४४, भक्तपुरमा ३०१ र ललितपुरमा ५५० जनामा गरी कुल ३५ सय ९५ जना थपिएको जानकारी दिएका हुन् ।

योसहित नेपालमा एकैदिन ७ हजार २११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पीसीआर विधिबाट गरिकएको परीक्षणमा ७ हजार १३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो ।  शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५ हजार ७६३ संक्रमित फेला परेका थिए । नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म ३ हजार ३ सय २५ जनाले ज्यान गुमाइसकेका छन् ।