महोत्तरीमा वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी

जनकपुरधाम । महोत्तरीमा वैशाख २२ गतेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सिफारिस गरेको आधारमा वैशाख २२ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।  स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उप दफा (३) र संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको प्रजिअ भट्टराईले बताए ।

निषेधाज्ञामा अति आवश्यकबाहेक सार्वजनिक तथा निजी यातायातका साधन सञ्चालन गर्न पाइने छैन । यस अवधिमा होटेल तथा रेष्टुरेन्ट, व्यटी पार्लर, कपडा पसल, सैलुन, जिमखाना, सुन चाँदी, टेलरिङ्ग, फुटपाथ पसल, शैक्षिक संस्था, ट्युसन सेन्टर, उद्योग कलकारखाना बन्द रहने भएको छ ।

खाद्यान्न, फलफूल, तरकारी, दूध, डेरी, ग्यास पसल बिहान ७ देखि १० र बेलुकी ४ देखि ७ बजेसम्म मात्रै खोल्न सकिने जारी गरिएको निषेधाज्ञा आदेशमा भनिएको छ ।

स्थानीय प्रशासनले विवाह, ब्रतबन्ध, न्वारन, मृत्यु संस्कार लगायतका संस्कारजन्य कार्यक्रममा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना र भौतिक दूरी कायम गरी बढीमा १५ जना मात्रै सहभागी हुन भनेको छ भने डिजे तथा व्याण्ड बाजा नबजाउन भनेको छ ।

मठमन्दिरमा पूजारीले नित्य पूजाबाहेक अन्य सामूहिक पूजा तथा बली प्रदान बन्द गर्न र मेला महोत्सव समेत नगर्न भनिएको छ ।

विज्ञप्ति :