देशभरका ५५० पत्रकारमा कोरोना संक्रमण पृष्टि

७ जनाले ज्यान गुमाए

काठमाडौँ । नेपालमा हालसम्म ५५० जना पत्रकार कोरोना भाइरस संक्रमित भएका छन् ।

नेपाल पत्रकार महासंघको तथ्यांक अनुसार हालसम्म सो संख्यामा पत्रकार संक्रमित भएका हुन् भने ७ जनाको निधन भएको छ ।

हाल संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना पत्रकारको आइसीयुमा उपचार भइरहेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।

उनले आज एक विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमण भई उपचारको आवश्यकता भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन समेत सरकारसँग माग गरेका छन् । ‘अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको यतिखेर स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको छ ।

यो संवेदनशील घडीमा अनेक कठिनाईका बाबजूद कार्यस्थलमा खटिने पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुनु जरुरी छ’, विज्ञप्तिमा भनिएको छ, ‘महासंघ यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा अपिल गर्दछ ।’

यस्तै महासंघले कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा कार्यस्थलमा खटिइरहेका पत्रकारका लागि सुलभ तरिकाले पीसीआर परीक्षणलगायत स्वास्थ्य र सुरक्षा सामग्री व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।