कोरोना संक्रमणबाट विराटनगरमा सात जनाको मृत्यु

विराटनगर । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विराटनगरमा बुधबार राति र बिहीबार गरी सात जनाको मृत्यु भएको छ ।

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा दुई र न्युरो अस्पतालमा एकजना गरी सात जना संक्रमितको मृत्यु भएको हो ।

कोसी अस्पतालमा विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुष, मोरङको जहदा गाउँपालिका–५ का २५ वर्षीय युवक, सुनसरीको कोसी गाउँपालिका–४ का ६५ वर्षीय पुरुष र विराटनगर महानगरपालिका–१३ का ५० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।

अस्पतालका अनुसार संक्रमण देखिएपछि २५ वर्षीय युवकलाई वैशाख १९ गते भर्ना गरिएको थियो भने ६५ वर्षीय पुरुषलाई वैशाख २२ गते भर्ना गरिएको थियो । ५० वर्षीय पुरुषको कोसीमै बिहीबार बिहान ११ बजेतिर मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २० गते भर्ना गरिएको थियो ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा पनि कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना महिला र एकजना वृद्ध पुरुष छन् ।

पाठेघरमा देखिएको समस्याका कारण अत्याधिक रक्तश्राव हुँदा विराटनगर–५ को चाखालकी ३७ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार महिलालाई उपचारका लागि बुधबार दिउँसो ४ः२० बजेतिर भर्ना गरिएको थियो ।

नोबेलमै उपचारका लागि भर्ना गरिएका विराटनगर महानगरपालिका–१९ का ६४ वर्षीय पुरुषको पनि बुधबार राति मृत्यु भएको हो । श्वासप्रश्वास र मुटुमा समस्या देखिएपछि वृद्धलाई उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

विराटनगरकै न्युरो अस्पतालमा मोरङको रंगेली नगरपालिका–३ का २६ वर्षीय युवकको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएपछि १७ दिनदेखि उनी अस्पतालमा उपचाररत थिए । उनको बुधबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो । उनको बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।