काठमाडौँ उपत्यकामा निषेधाज्ञा नमान्नेलाई तीन सय रुपैयाँ र ६ महीना कैद हुन सक्ने

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा नमान्नेलाई प्रहरीले जरिवाना लिन शुरू गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार निषेधाज्ञा नमान्नेलाई संक्रामक रोग ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा १ सय रुपैयाँ जरिवाना लिन थालिएको हो ।

परिसर प्रमुख एसएसपी अशोक सिंहका अनुसार निषेधाज्ञालाई थप प्रभावकारी बनाउन निषेधाज्ञा नमान्नेलाई जरिवाना लिन शुरू गरिएको हो । वैशाख २१ र २२ मा महानगरीय प्रहरी परिसर ललितपुरले ८४ जनालाई जरिवाना गरेको छ ।

बिहीबार (आज)बाट जरिवानालगायत कारावाहीमा थप कडाइ गरिने प्रहरीले जनाएको छ । संक्रामक रोग ऐन–२०२० अनुसार स्थानीय प्रशासनलाई ३ सय सम्म जरिवाना र ६ महीना कैद सजाय गर्ने अधिकार छ ।