सेन्चुरी बैंकका अध्यक्षले रकम हिनामिना गरेको समाचारप्रति बैंकको स्वीकारोक्ति, राष्ट्र बैंक मौन (प्रमाणसहित)

फलोअप न्यूज

काठमाडौं । आम नेपाली जनताले भरोसा र आस गरी बैंकमा निक्षेप गरेका हुन्छन् । तर, बिडम्बना केही व्यक्तिगत फाईदा लिने सोँच भएका व्यक्तिहरुका कारण भरोसा डगमगाउने अवस्था बनेको छ ।

पाथिभरा न्यूज डटकमले यसअघि सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष र अन्य केही सञ्चालकहरुको मिलेमतोमा बैंकको ६ करोड बरबरको रकम हिनामिना भएको समाचार प्रकाशन गरेपछि स्वयं बैंकले विज्ञप्ति जारी गर्दै उक्त रकम हिनामिना भएको आशय व्यक्त गरेपछि बैंकप्रतिको आम विश्वास गुम्ने र धरासयी बनाउने कार्यमा संलग्न भएको पुष्टि भएको छ ।

बैंकको स्वयं अध्यक्ष, बैंककै सञ्चालक र नायव प्रमुख कार्यकारी अधिकृत कै संलग्नतामा वैदेशिक मुद्रा अपचलन गर्दै बैंकको भरोसा र विश्वासमाथि प्रश्नचिन्ह खडा गर्ने गरी बैंकलाई नै धरासायी बनाउने कार्यमा संलग्न रहेको प्रमाण हामीसँग छ । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ, तात्कालिन नायव प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई, बैंकका अर्का संचालक रणबहादुर श्रेष्ठलगायत अन्य बैंकका सेयर सदस्य र कर्मचारीहरुसँग मिलेर ‘राम्रो रेमिट’ नामको कम्पनी सञ्चालन गरेको र सोही कम्पनीद्वारा विदेशी रकम कारोबार गरेका हुन् । यसरी बैंकका कर्मचारीसँग मिलेर कारोबार गरिनुलाई बैंकको कर्मचारी सेवा र नियमावलीको ठाडो उल्लंघन हो । नियमावलीमा प्रष्ट लेखिएको छ की ‘संचालक समितिका सदस्यहरुले बैंकका अन्य कर्मचारीहरुसँग मिलेर कुनै पनि व्यापार व्यवसाय सञ्चालन गर्न हुँदैन ।’ यसरी नियमावलीले प्रष्ट परिरहेको अवस्थामा मिलेमतो गरी कम्पनी खोलिँदा नै बैंकलाई डुबाउने नियत प्रष्ट देखिन्छ । र, यसरी रकम हिनामिना भएपछि छानबिन हुने क्रममा नै नायव प्रमुख कार्यकारी अधिकृत भट्टराईले तत्काल राजीनामा दिए । वैदेशिक मुद्रा अपचलनको छानबिन हुने भएपछि उनको तत्कालै राजीनामा स्वीकृत गरेर बैंकका कही सञ्चालकहरुले भट्टराईलाई उन्मुक्ति दिएपछि झनै यो विषय थप संकास्पद बनेको हो ।

सेयर संचालकहरुको पत्र
सेयर संचालकहरुको पत्र
सेयर संचालकहरुको पत्र

हामीसँग प्राप्त थप प्रमाणमा बैंकका १० जना सेयर संचालकहरुले सामूहिक रुपमा बैंकको संचालक समितिसमक्ष सञ्चालकहरु नै वित्तिय स्वार्थमा लिप्त भई संस्थागत सुशासन पालन नगरेको भन्दै रकम अपचलनको विषयलाई छानविन गर्न भन्दै केही महिना अघि ध्यानकर्षण गराउँदा पनि उक्त रकम अपचलनमा जोडिएका बैंकका अध्यक्ष र संचालकहरुले कुनै चासो नदिएपछि उनीहरु पनि आजित बनेको स्रोतले जानकारी दिएको छ । त्यसैगरी कम्पनी रजिष्टार कार्यालयको शेयर दर्ता किताबमा ‘राम्रो रेमिट प्रा. लि.’का सञ्चालकहरुमा तात्कालीन नायव प्रमुख कार्यकारी अधिकृत भट्टराईले भने आफ्नी श्रीमति स्मृति उपाध्याय भट्टराईको नाममा सेयर राखी चलाखी गर्न खोजेको देखिन्छ । यसरी सार्वजनिक रुपमा बैंकको आर्थिक अपचलनमा जोडिएपछि त्यस्सँग सम्बन्धित बैंकका सवैले नैतिक रुपमा अनुसन्धानलाई सघाउ गर्दै राजीनामा दिनुपर्ने बैंकिङ क्षेत्रका विज्ञहरु बताउँछन् । बैंकको वित्तिय अवस्था राम्रै भएपनि सबल नेतृत्व नपाउँदा र केही सञ्चालकहरुको नीजि स्वार्थका कारण बैंक विगतको तुलनामा कमजोर बन्दै गएको बैंकका एक कर्मचारी बताउँछन् । बैंकका सञ्चालकहरुमध्ये अध्यक्ष रजेश कुमार श्रेष्ठको सवैभन्दा कम लगानी भएको कारण आफू कमाउने, बैंक डुबाउने खेलमा लागेको बैंक सम्वद्ध स्रोत बताउँछ ।

शेयर दर्ता किताबमा ‘राम्रो रेमिट प्रा. लि.’का सञ्चालकहरु

 

 

 

शेयर दर्ता किताबमा ‘राम्रो रेमिट प्रा. लि.’का सञ्चालकहरु
शेयर दर्ता किताबमा ‘राम्रो रेमिट प्रा. लि.’का सञ्चालकहरु

हामीले समाचार प्रकाशन गरेपछि बैंकका हालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले विभिन्न सञ्चारमाध्यमहरुलाई व्यक्तिगत रुपमा नै टेलिफोन गर्दै बैंकको आधिकारीक लेटरहेड बिनाको र आधिकारीक हस्ताक्षर नै नभएको विज्ञप्ति पठाएर ‘जसरी पनि विज्ञप्तिलाई समाचार बनाईदिनुहोला’ भन्दै अनुनय विनय गरिरहेको पनि स्रोतले बताएको छ । हामीले प्रकाशन गरेको समाचारलाई दीग्भ्रमित गर्न सम्माननीय अदालतको मध्यस्थताको विषय प्रवेश गराउँदै उक्त मुद्रा अपचलनको विषयमा नेपाल राष्ट्र बैंकको अनुसन्धानलाई नै प्रभावित गर्ने आसयको विज्ञप्ति जारी गरेका छन् ।

न्यौपाने त्यतिमा मात्रै रोकिएनन्, हामीले समाचार प्रकाशन गरेपछि मानव संशाधन (एच आर) र खरीद बिक्री (ट्रेडिङ) शाखाका कर्मचारीहरुलाई सूचना चुहाएको भन्दै सरुवा गरिदिएका छन् भने खरीद बिक्रीमा कमिशनमा कुरा मिल्ने न्यौपानेका विश्वासपात्र भित्राएका छन् भने एच आरमा समेत उनले भनेको मान्ने ‘यस म्यान’लाई ल्याएका छन् ।

 

बैंकले जारी गरेको विज्ञप्ति
बैंकले जारी गरेको विज्ञप्ति

राष्ट्र बैंक मौन

सेन्चुरी कमर्सियल बैंकको समाचार बाहिरिएपछि पटक/पटक राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई सम्पर्क गर्दा विषयको जानकारी मात्र भएको तर कुनै ठोस सूचना र यसअधि उक्त सम्बन्धमा राष्ट्र बैंकले गरेको अनुसन्धानको सन्दर्भमा अनभिज्ञता जनाए भने अबको कारवाही वा अनुसन्धान पनि केही नहुने बताए । प्रवक्तासँग मुद्रा अपचलनको विभिन्न प्रमाणहरु थाहा नभएको बताएपछि हामीसँग भएको प्रमाणहरु दिएपछि पनि उनी बैंककै पक्षमा बोल्न थालेपछि ढकालसँगको कुराकानी यत्तिमै सिमित गरियो । त्यसपछि राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रसँग सम्पर्क गर्दा उनको विभाग अर्कै भएकोले हामीले लेखेको समाचारसम्बन्धि विदेशी बिनीमय बिभागले अनुसन्धान गर्ने भन्दै थप कुरा गर्न उचित नभएपछि गभर्नर महाप्रसाद अधिकारीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

यसरी आम जनताको निक्षेप रहेको बैंकले खुलेआम विदेशी मुद्रा अपचलन गरी हिनामिना गर्दा पनि बैंकहरुको नियमनकारी निकाय राष्ट्र बैंक मौन बस्नु भनेको कतै नीजि बैंकको प्रलोभनमा राष्ट्र बैंक पनि परेको हो की भनेर प्रश्न गर्ने अवस्था सिर्जना भएको छ ।