११ बुँदे सरकारको न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने

काठमाडौं । आज सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गर्ने भएको छ । शनिबार बालुवाटारमा बसेको बैठकले आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेकोपछि आज उक्त कार्यक्रम साझा हुने भएको हो ।

कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई शुक्रबार हस्तान्तरण गरेको थियो । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।

न्यूनतम साझा कार्यक्रमलाई संयुक्त घोषणापत्रका रुपमा कार्यान्वयन गर्ने गरी सत्ता गठबन्धका दलहरुले न्यूनतम साझा कार्यक्रम बनाएर लागु गर्ने तयारी गरेका हुन् ।

न्यूनतम साझा कार्यक्रममा सरकारका प्राथमिकता, संयुक्त सरकारका नीति तथा कार्यक्रम, राष्ट्रिय हितको सम्बद्र्धन, संघीयताको कार्यान्वयन र संघीय लोकतन्त्रको सुदृढीकरणसहित ११ बुँदा समेटिएका छन् ।