भोलिबाट अस्ट्राजेनेका खोप अभियान सुरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार सरकारले भोलि सोमबारदेखि अस्ट्राजेनेका खोप अभियान सुरु गर्दै छ । कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई अस्ट्राजेनेका खोप लगाइने भएको हो ।

खोप उपलब्ध गराइरहेका खोप केन्द्रबाट कोभिशिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पखाईमा रहेका ६५ वर्ष वा सो भन्दा माथिका नागरिकलाई खोप लगाउने तयारी विभागको छ ।

विभागकाअनुसार दोस्रो मात्रा दिई बाँकी रहेको खोप विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने छ। भुटान र जापान सरकारबाट कोभ्याक्स सुविधामार्फत् प्राप्त गरेको अस्ट्राजेनिका खोप बिरामी र वैदेशिक रोजगारीमा जानेहरूलाई पनि लगाइने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति, मृगौलाले काम नगरी डायलाईसिस गर्नुपर्ने र गरेका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्बुद रोगका बिरामीलाई प्राथमिकताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरी खोप लगाइने विभागले जानकारी दिएको छ।

सरकारले गतवर्ष फागुन २३ देखि चैत ३ गतेसमम ६५ वर्षमाथिका वृद्धलाई कोभिशिल्ड खोप लगाएको थियो । अस्ट्राजेनेका र कोभिशिल्ड फरक ठाउँमा उत्पादन भएपनि दुवै खोप एकै प्रकृतिको भएको बताउँदै उक्त खोप दिन लागिएको बताइन्छ ।