बाध्यताले परदेशिएकाहरु र तिनै परदेश पुगेका सन्तानको पर्खाइमा बाँचिरहेकी आमाको कथा बोकेको गीत सार्वजनिक

काठमाडौं । विदेशिनु यतिबेला आम नेपालीहरुको बाध्यता बनेको छ । महंगिएको बजार भाउ, थेगि नसक्नुको स्वास्थ्य उपचार पद्धति, अति महंगो शिक्षा प्रणाली, उत्पादन र श्रमयोग्य युवा शक्ति बेरोजगार बन्नु जस्ता अनेकौँ विद्यमान जटिल परिस्थितिका कारण युवाहरु हरेक दिन परदेश हिँडिरहेका छन् ।

राज्यले स्वदेशमा नै युवा शक्तिको सहि सदुपयोग गरेर राज्यलाई समृद्ध बनाउनु त एकादेशको कथा जस्तै बनेको छ किनकी यहाँ कुनै पनि राज्य संचालकहरुसँग अल्पकालिन र दीर्घकालिन राज्य समृद्धिको कुनै पहल नै छैन र योजना नै छैन । बरु, उहि विदेशिएकाहरुको थोपा/थोपा पसिनाको कमाईबाट पठाईएको रेमिट्यान्सको लेखाजोखा अनि तथ्यांक सार्वजनिक गर्दै उहि रेमिट्यान्सले देस चलिरहेको भाषणबाजी हुन्छ र समृद्धिको ग्राफ पढाईन्छ ।

उता सुन्दर सपना संगाल्दै परदेशिएकाहरुमध्ये दैनिक रुपमा ६ जनाले पराईभूमीमा मृत्युवरण गरेर लास आफन्तले बुझिरहँदाको दर्दनाक पीडाको कुनै कल्पना नै गर्न सकिँदैन । त्यसले पारिवारिक असहजता, सामाजिक विचलन, उत्पादनमा सुन्यता र उर्वर भूमी बाँझो हुने पाटो अर्कै छ । यसतर्फको सोँचको चेत त कहिले खुल्ने हो ?

हो यहि तीतो नेपाली समाजको दर्दनाक कथालाई बडोे सुन्दर अनि मार्मिक रुपमा दीपक वस्नेतले रचना र संगीतमार्फत प्रस्तुत गरेका छन् । पछिल्लो समयका गीति लेखनमा उम्दा वस्नेतले समकालिन नेपाली समाजको एउटा बिम्बको रुपमा विदेशिएको सन्तान अनि तिनै सन्तानको आमाको दुःख पीडा र सम्झनामा यथार्थ चित्रण गरेका छन् । दुई दर्जन भन्दा बढी गीत सिर्जना गरिसकेका वस्नेत आफैँ पनि परदेशमा छन् । उनले आधा दर्जन जति गीतमा भने संगीत भरिसकेका छन् । त्यसैगरी गीतमा सुन्दर संगीत संयोजन आशिष सुनुवारको रहेको छ ।

गीत गायक तथा संचारकर्मी कमल श्रेष्ठको आवाजमा सजिएको छ । १५ वर्षदेखि निरन्तर संगीत र संचारकर्ममा लागेका श्रेष्ठका दुई दर्जनभन्दा बढी गीतहरु सार्वजनिक भएका छन् ।

गीतको निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक प्रीयजन राईले गरेका छन् भने रविन दोङ्गको सह—निर्देशन र कन्सेप्टमा छायांकन भएको छ । भिडियोमा भारी मन बनाएर एउटा केटा विदेश जान्छ अनि काम गर्दागर्दै घर र उनको आमाको यादले टोलाउन थाल्छ । एवंप्रकारले उ कार्यस्थलमा नै निदाउँछ र साहुले नराम्रोसँग पीट्छ । पछि केटो र साहुबीचको विवाद बढीरहेको बेला उसले आमाको दुःख, बर्खामा चुहिने घर, चाडबाडको रमाईलो । परदेशिएको छोराको सम्झना गर्दै अभावमा आमाले खाने बासी खानालाई बडो मार्मिक ढंगले छायांकन गरिएको छ । अन्त्यमा आमाको दुःखमा मल्हम लगाउन नपाउँदै उसको सपना टुंगीएको दुखान्त अन्त्य भएको कथामा आमाको भूमिकामा रश्मी भट्टको जोडदार अभिनय रहेको छ भने छोराको भूमिकामा सागर कार्कीको बेजोड प्रस्तुती रहेको छ । त्यस्तै बाल कलाकार अशिशेष देवकोटाको सुन्दर अभिनयका साथसाथै प्रकेश बुढाथोकी र उदिप सिवाकोटीको अभिनय देख्न सकिन्छ भने अनिल कुमार महर्जनले दृष्य सम्पादन गरेका छन् ।

नेपालीहरुको महान पर्व वडादशैँको सम्मुखैमा लाखौँ नेपालीहरुको साझा कथा बोकेको गीतमार्फत बाध्यताले परदेशिएका नेपाल आमाका सन्तानहरु र तीनै सन्तानहरु फर्किएर आउने बाटो हेरिरहेकी आमाहरुमा गीत समर्पण गर्दै सार्वजनिक गरिएको गीतकार एवं संगीतकार दीपक वस्नेत बताउँछन् ।

हेर्नुहोस् भिडियो