नेपाली महिला भलिबल टोलीलाई एसिएन सेन्ट्रल जोन च्यालेन्ज कपको उपाधि

काठमाडौं । मंगलबार बंगलादेशको ढाकास्थित शाहीद सोह्रावर्दी नेसनल इन्डोर स्टेडियममा निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपाली महिला भलिबल टोलीलृे उपाधि हात पारेको छ ।

पहिलो सेटमा उज्वेकिस्तानले १८ अंकसम्म अग्रता लिएको थियो । नेपालले १८–१८ को बराबरी गर्‍यो । त्यसपछि रोमाञ्चक बनेको सेटमा नेपालले २६–२४ को स्कोरमा नतिजा आफ्नो पक्षमा पार्‍यो ।

दोस्रो सेटमा पनि उज्वेकिस्तानले सुरुबाटै अग्रता लिएको थियो । एक समय २१–१६ को स्थिति थियो । त्यसपछि २३–१९ को स्थितिमा उज्वेकिस्तानले रातो कार्डको सामना गरेपछि नेपालले एक अंक बोनस पाएको थियो । सर्भिस नेपालको पक्षमा आएको थियो ।

२३–२० को स्थितिबाट नेपालले लगातार अंक जोड्दै २३–२३ को स्थिति बनायो । तर, दोस्रो सेटमा नेपाल २६–२४ ले पराजित भयो ।

तेस्रो सेटमा नेपालले २५–१५ को सहज जित निकाल्दै २–१ को अग्रता लियो । चौथो सेटमा उज्वेकिस्तानले २५–२२ ले जित्दै २–२ को बराबरी गर्‍यो । अन्तिम तथा निर्णायक सेटमा नेपालले उज्वेकिस्तानलाई १५–११ ले जित्दै उपाधि रक्षा गरेको हो ।

नेपालले लिग चरणमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । लिग चरणमा नेपालले श्रीलंकासँगबाहेक अन्य कुनै पनि टोलीसँग अंक गुमाएको थिएन ।

प्रतियोगितामा महिलातर्फ नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका, उज्वेकिस्तान र कीर्गिस्तानले प्रतिस्पर्धा गरेका थिए । नेपालले लिग चरणमा पनि सबै टोलीलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

नेपालले पहिलो खेल श्रीलंकालाई ३–२ को सेटमा हराएको थियो भने बाँकी सबै टोलीलाई ३–० को सोझो सेटमा हराएको थियो ।

नेपालले फाइनल खेलेको यो लगातार दोस्रो प्रतियोगिता हो । बंगलादेशमै सम्पन्न गत संकस्करणको उपाधि जितेपछि नेपालले काठमाडौंमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद ९साग०को पनि फाइनल खेलेको थियो । तर, फाइनलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो ।

सेन्ट्रल जोन भलिबलको गत संस्करणमा भने नेपालले फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो । नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२, २५–८ ले हराउँदै उपाधि पक्का गरेको थियो । नेपालकी प्रतिभा माली प्रतियोगिताको ‘बेस्ट स्पाइक’ घोषित भइन् भने कप्तान अरुणा शाही ‘बेस्ट सेटर’ बनेकी थिइन् ।

पाँच राष्ट्र सम्मिलित प्रतियोगिताभर नेपालले कुनै पनि सेट गुमाएको थिएन । त्यति बेला प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, कीर्गिस्तान र अफगानिस्तानको सहभागिता थियो ।