भक्तपुर कार दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

भक्तपुर । भक्तपुरमा गए राति कार दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

धनुषाको जनकपुर उप महानगरपालिका–१५ घर भई हाल काठमाडौं शान्तिनगर बस्ने २२ बर्षीय अभिषेक साहको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

बुधबार राति करिब पौने ९ बजे तिर मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा नयाँथिमीबाट गठ्ठाघरतर्फ जाँदै बा ४ च ५७६ नम्बरको कार आफैं अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा कार चालक सिन्धुली कमलामाई नगरपालिका–१२ का २५ वर्षीय सविन घिसिङ गम्भीर घाइते भएका छन् । यस्तै, कार अनियन्त्रित भई सोही दिशातर्फ गईरहेको ट्याक्सी र बसलाई समेत ठक्कर दिएकोमा ट्याक्सी चालक रामेछापको मन्थली नगरपालिका–१२ घर भई हाल ललितपुर टिकाथली बस्ने ३२ वर्षीय भिमसेन खत्री पनि घाइते भएका थिए ।