माओवादी केन्द्रको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु, भोलि विहान ११:३० देखि मतदान

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

शनिबार दिउँसो केन्द्रीय निर्वाचन समितिले मतदाता सूची सार्वजनिक गरेसँगै निर्वाचन प्रक्रिया सुरु भएको हो ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समितिले १ हजार ७ सय ४२ जना महाधिवेशन प्रतिनिधिको नाम प्रकाशन गरेको हो ।

प्रकाशित नाम असहमति भए त्यसविरुद्ध उजुरीको व्यवस्था छ । साँझ ६ बजेसम्म अन्तिम नामावली प्रकाशित गर्ने तयारी छ । त्यसपछि भने प्रकाशित नामम उजुरी लाग्नेछैन ।

माओवादी केन्द्रमा १५ पदाधिकारीसहित २ सय ९९ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । तीमध्ये ५० प्रतिशत समानुपातिक र ५० प्रतिशत खुला निर्वाचित हुने व्यवस्था छ ।

महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ ।

निर्वाचन समितिले शनिबार अपरान्ह सार्वजनिक गरेको कार्यक्रम अनुसार उम्मेदवारी दर्ताको समय राति ८ बजेदेखि साढे ८ बजेसम्मलाई तोकिएको छ ।

त्यस्तै ८ : ३५ सम्म उम्मेदवारको विरोधमा उजुरीको सूचना दिने, ८: ४० देखि ९ बजेसम्म उजुरीउपर छानबिन र निर्णय, ९:१० बजे उम्मेदवारको नामावली पुन: प्रकाशन, ९: ३० देखि ११ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय दिइएको छ ।

केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले सार्वजनिक गरेको निर्वाचन कार्यक्रममा ११ : १५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ११: ३० देखि राति ४ बजेसम्म मतदानको समय तोकिएको छ ।