नगरपालिकाका प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १४ जना जुवाखालबाट पक्राउ

जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जना जाजरकोट सदरमुकाम नजिकै गैरीखालीबाट जुवाको खालबाट पक्राउ परेका छन् ।​ कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्त माधवप्रसाद श्रेष्ठका अनुसार उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरुलाई शनिबार राति २ बजे पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा अधिकृत घर्तीसहित नेपाली काँग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढा पनि रहेका छन् । सभापति बुढा वडाध्यक्ष समेत हुन् । उनीहरूको साथबाट २ लाख नगद पनि बरामद गरिएको प्रवक्त श्रेष्ठले बताए ।