आज शेयर बजार ६० अंकले बढ्यो

काठमाडौं । शेयर बजार साताको पहिलो दिन आज आइतबार कारोबारको उच्च अंकले वृद्धि भएको छ ।

आइतबार कारोबारमा आएका २४० कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता शेयर ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । गत बुधबार ३ अर्ब ६२ करोडको शेयर कारोबार भएको थियो । बुधबारको तुलनामा आइतबारको कारोबार रकममा पनि सुधार आएको हो ।

आइतबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको बाहेकका अन्य सबै उपसमूहका परिसूचकहरु बढेका छन् । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै ५.०८ प्रतिशत बढेको छ । त्यस्तै, निर्जीवन बीमा उपसमूहको परिसूचक ३.५४ प्रतिशत, विकास बैंकको ३.४२ प्रतिशत लगानी २.१७ प्रतिशत, जीवन बीमा २.४२ प्रतिशत, लघुवित्त २.८८ प्रतिशत र अन्य उपसमूहको परिसूचक २.३ प्रतिशत, बैंकिङ १.९९ प्रतिशत, होटल तथा पर्यटन १.४ प्रतिशत र जलविद्युत उपसमूहको परिसूचक १.७ प्रतिशतले बढेको छ ।

आइतबार कारोबार रकमका आधारमा हिमालयन डिष्ट्रिलरीको ४४ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएर पहिलो शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा २९ करोड ७० लाख रुपैयाँको कारोबार गरेर नबिल बैंक रहेको छ ।