दिल्लीमा कर्फ्यू, कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

नयाँदिल्ली । कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा सप्ताहान्तमा कर्फ्यू लगाइने भएको छ । मंगलबार बसेको दिल्ली सरकारको मन्त्रिपरिषद् बैठकले सप्ताहान्तमा कर्फ्यू लगाउने निर्णय गरेको हो ।

उपमुख्यमन्त्री मनिष सिसोदियाका अनुसार अन्य दिनमा भने दिल्लीका बस तथा मेट्रो रेल साबिक झैँ सञ्चालन हुनेछन् । मास्कविना कसैले पनि यात्रा गर्न पाउनेछैन ।

यस्तै निजी कार्यलयहरूले ५० प्रतिशत कर्मचारीको मद्दतले काम गर्नुपर्नेछ । सरकारले बाँकी ५० प्रतिशतलाई छुट्टी दिन वा घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

गत हप्ता ५० मेट्रोरेल र बसमा ५० प्रतिशत मात्र यात्रु बोक्न छुट दिएको सरकारले भीड बढेपछि रेल र बसलाइ पूर्ण क्षमतामा चलाउन छुट दिएको छ । मास्कविना भने कसैलाई पनि यात्रा नगराउन निर्देशन दिएको छ ।

दिल्लीमा सोमबार ४ हजार ९९ जना नयाँ सङ्क्रमित भेटिएका थिए । पछिल्लो २४ घण्टामा दिल्लीमा कोभिडका कारण एक जनाको मृत्यु भएको छ ।