भारतमा कोरोना बढ्न थालेपछि सुदूरपश्चिमका नेपालीहरु धमाधम घर फर्कँदै

काठमाडौं । भारतका विभिन्न स्थानमा कोरोनाको नयाँ भेरियन्ट आमिक्रोनको संक्रमण बढेसँगै काम छाडेर घर फर्कने नेपालीको संख्या बढेको छ ।

कैलाली सँग जोडिएको सीमा नाका गौरीफन्टास्थित सशस्त्र प्रहरीको चेकपोष्टका अनुसार पछिल्लो एक साता दैनिक रुपमा भारतबाट फर्कने नेपालीको संख्या बढेको हो । पुस लागेसँगै गौरीफन्टा नाका भएर सात हजार भन्दै बढी भित्रिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिममा मनाइने माघी पर्वलाई लक्षित गरी घर फर्कनेहरुको संख्या दैनिक बढ्दै गएको छ । यसअघि दैनिक २५० को हाराहारीमा नेपाली फर्कने गरेपनि एकसाता यता दैनिक ६ सयसम्म फर्कने गरेका छन् ।

पछिल्ला तीन दिनयता गौरीफन्टामा रहेको हेल्थ डेस्कमा ६० जनामा कोरोना एन्टिजेन्ट पोजेटिभ पुष्टि भएको छ । हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीका अनुसार यो संख्या दैनिक बढ्दै गएको छ । संक्रमितको संख्या बढेसँगै चेकजाँचमा पनि कडाइ गरीएकोे प्रशासनले जनाएको छ । तर स्वदेश फर्कनेहरुले भने भारतमाजस्तो नेपालतर्फ स्वास्थ्य चेकजाँचमा कडाइ नभएको बताएका छन् ।

यसैबीच सुदूरपश्चिम प्रदेशमा फेरि कोरोनाको संक्रमण बढ्न थालेको छ । भारतमा रोजगारीमा रहेकाहरु फर्कने क्रम बढेसँगै संक्रमितको संख्या बढ्न थालेको हो । संक्रमितको संख्या बढेसँग्ै गाउँगाउँमा त्रास फैलिएको छ । यता धनगढी उपमहानगरपालिकाले सीमा नाकामै खोप लगाउने व्यवस्था गरेको जनाएको छ । सीमामा भरोसिल र एष्ट्रोजेन दुवै प्रकारका खोज लगाउने व्यवस्था गरिएको छ ।