विज्ञको चेतावनी : नेपालमा पनि ओमिक्रोनले भयावह रूप लिनसक्ने

संक्रमितको संख्या ह्वात्तै बढ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २४ जनामा कोरोना भनईरसको ओमिक्रोन भेरियन्ट देखिएपछि अब नेपालमा ओमिक्रोनले भयावह रुप लिन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

छिमेकी देशहरु भारत र चीनसमा पनि ओमिक्रोनले आक्रान्त पार्न थालेपछि नेपालमा समेत भयावह रूप लिनसक्ने भन्दै विज्ञहले बेलैमा सतर्कता अपनाउन र तयारी गर्न भनेका छन् ।

छिमेकी देश भारतमा बढ्दै भएको ओमिक्रोन संक्रमणको असरको कारण भारतमा आंसिक कफ्र्यु र अन्य चेनब्रेकको अवधारणाहरु अपनाउन सुरु गरिसकेको छ भने छिमेकी चीनको केही प्रान्तहरुमा भने लकडाउनलाई कडा गरिएको छ , लकडाउनमा गरिएको कडाईको कारण चीनमा दैनिक उपभोग्य बस्तुको हाहाकार नै भएको अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आज एकैदिन २४ जना थपिएसँगै २७ जनामा ओमिक्रोन पुष्टि भइसकेको छ । जसका कारण अबको केही सातामा ओमिक्रोनले संक्रामक रूप लिनसक्ने प्रक्षेपण समेत गरिएको छ ।

दोस्रो लहरको प्रभावित पछिल्ला ४ महिनामा सुस्ताउँदै गएको थियो । तर, दोस्रो लहरको प्रभाव नसकिँदै तेस्रो लहरले आक्रान्त पार्ने संकेत देखिएको भन्दै विज्ञहरूले सचेत गराएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोनको संक्रमण बढ्न सक्ने भन्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ ।

नेपालमा पुस १५ यता एक साताको अवधिमा २ हजार ५ सय नयाँ संक्रमित थपिएका छन् । पुस १५ गते २ सय ४१ रहेको संक्रमितको संख्या प्रत्येक दिन बढेर दैनिक ५ सयमाथि पुगिसकेको छ । परीक्षणको तुलनामा १ प्रतिशतमा झरेको संक्रमण दर ४ प्रतिशतमाथि पुगेको छ ।

संक्रमणको दरलाई हेर्ने हो भने अबको केही साताभित्र नेपालमा ओमिक्रोनले तेस्रो लहर ल्याउने देखाएको सुक्ष्म जीवाणुविज्ञ डा। सन्तोष दुलालले बताउनुभयो । एक प्रतिशतभन्दा तल झरेको संक्रमणदर ५ प्रतिशतबाट उकालो लाग्नुले तेस्रो लहर आउन लागेको पुष्टि गर्ने उहाँको भनाइ छ ।

यस्तै भारतमा ओमिक्रोन संक्रमितको संख्या बिहीबार १ लाख नाघेको छ । भारतमा संक्रमण फैलिएपछि घर फर्कने नेपालीहरूको संख्या पनि बढेको छ भने उनीहरू उतैबाट संक्रमित भएर आइरहेका छन् । भारतबाट फर्कनेहरूले कञ्चनपुर जिल्लाका आइसोलेसन सेन्टर भरिएका छन् ।

संक्रमण फैलन नदिन प्रधानमन्त्रीको निर्देशन
यसै सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकमा प्रधानमन्त्रीले नागरिकको जीवन पहिलो प्राथमिकता हुने भन्दै जीवन रक्षाका लागि आवश्यक हरेक प्रकारको तयारीमा रहन मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

उनले स्कूल, कलेजदेखि विभिन्न ठाउँमा खोप केन्द्र स्थापना गरेर खोप अभियान नै चलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिए । प्रधानमन्त्रीले स्वास्थ्य सामग्रीदेखि अन्य आवश्यक सामग्रीको पनि पूर्वतयारीमा जोड दिए ।

बैठकमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सीमा नाकालाई व्यवस्थित बनाउने पनि निर्णय भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेलले नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको अवस्था र मन्त्रालयले गरिरहेको कामका बारेमा ब्रिफिङ गर्नु भएको थियो । सेनाले पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराएको थियो ।

उता नेपालमा पछिल्लो २४ घण्टामा देशभर ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २७२ जनाको पीसीआर र ६ हजार ९९९ जनाको एन्टीजेन परिक्षण गर्दा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनको संख्या शून्य छ ।

शुक्रबार २०२ जना संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २८४, ललितपुरमा ६२ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन् ।