आजदेखि ३ दिनसम्म वर्षा र हिमपात

काठमाडौं । आजदेखि ३ दिन अर्थात सोमबारसम्म वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहिरहेकोले तराईका केही भूभागमा हुस्सु लागेको छ भने दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । आइतबार सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा र बाँकी प्रदेशका एक९दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

सोमबार पनि वर्षाको सम्भावना छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा पानी पर्नेछ । लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा पनि वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।