झापा आन्दोलनका बेला केपी ओलीका अङ्ग रक्षक तामाङको यो हालत, ओलीलाई भेटेरै मर्ने उनको इच्छा

झापा / वि.सं. २०२८ को अन्त्यतिर भारतको पश्चिम बङ्गालको नक्सलवाडीमा कानू सन्याल र चारू मजुमदारको नेतृत्वमा कम्युनिष्ट पार्टीले सशस्त्र विद्रोह गरिरहेका थिए । त्यसबाट प्रभावित भएर नेपाली कम्युनिष्टहरूद्वारा नेपालको झापा जिल्लामापनि ’वर्गशत्रु समाप्त पार्ने अभियान’ चलाईयो ।

यो काण्डमा कम्युनिष्टहरूले सामन्त आरोप लगाएर केही सर्वसाधारण नागरिकको त्यसताका हत्या गरे । सर्वसाधरण नागरिकको हत्या गरेको आरोपमा सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी लगायत केही नेताहरू मारेको थियो । यस काण्डलाई नेपालको इतिहासमा ‘झापा काण्ड’ नाम दिइएको छ ।

यै झापा काण्डका एक योद्धा ७६ वर्षीय मनकुमार तामाङ अर्जुनधारा १ काे सिस्नेमा जिउँदै छन् । उनि निहत्था जनताको हत्या गरेको आरोपमा १७ वर्ष ७ महिना ७ दिन जेल परे । उनीसँगै सोही आरोपमा जेल बसेका पाँच जना सुखानीमा शहीद भए । बाँचेकामध्ये केपीशर्मा ओली मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री सहित पार्टीका अध्यक्ष छन् ।

तामाङका अनुसार ओलीसंग उनको त त र म म पनि चल्थ्यो । ११ महिनासम्म काठमाण्डौँको नख्खुजेलमा केपीओलीसंगै जेल जीवन बिताएका तामाङले भने, राजनीति त गर्दा हुँदो रहेछ । मैले वहाँहरुले जे जे भन्नु भयो त्यै माने । २०४६ सालको आन्दोलनबाट संबैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था आएपछि उहाँहरु अघिबढ्नु भयो म जस्तापछि पर्यौ ।’

झापा आन्दोलनका योद्धा तामाङ्ग बस्ने घर घामपानी चुहिने अवस्थामा पुगेको छ । ०४६ सालमा प्रजातन्त्र आएपछि राजा विरेन्द्रले जेलमुक्त गरेर फर्कीपछि उनले घर बनाएका हुन् । मकाईसकेको काठको घरको छाना जस्तापाताको भएपनि खिया लागेर मकाईसकेको छ । बाँसको बेरा मकाएर भुइँमा झर्न थालिसकेको छ । उनले भने, ‘अब त पक्कि घरमा बस्ने आसपनि मरिसक्यो ।’

उनले प्रधानमन्त्री ओलीलाई भटेरै मर्ने ईच्छा राखेका छन् । ‘उहाँको सुरक्षाकोलागि मैले हतियार उठाए । बुवा-आमा, दाजु-भाई लगायतका आफन्तले दिएको कुनै सल्लाह मानिन । हामी विरुद्ध तत्कालिन सासकलाई सुराक गर्ने र किसानलाई दुख दिने जमिनदार सिद्याउनुपर्ने उहाँले दिएको आदेश पालना गरे । उहाँ कस्तो हुनुभयो एक पटक हेरेर हात मिलाएर मर्ने ईच्छा छ,’ उनले भने ।

ओलीलाई लुकाउन र उनको सुरक्षाका लागि हतियार सहित अंग रक्षक समेत रहेका तामाङको जीवन यतिवेला कष्टकर बनेको छ । झापा बिद्रोहको मुख्य योजनाकार मानिएका सिपी मैनाली, राधाकृष्ण मैनाली, नरेश खरेल, मनकुमार गौतमलगायत थुप्रै नेताहरुसंग उनले जेल जिवन बिताएका छन् । तर आनन्दले रात बिताउने घर नहुँदा उनि जिवनको उचराद्र्धमा पिरोलिन थालेका छन् ।

विहान बेलुकाको हात मुख जोड्न उनले छिमेकीको सरण पर्नुपर्छ । बाँस मागेर कातेको चोयाबाट उनले डोको बनाएर विक्रि नगर्दा उनको मुखमा माड पस्दैन । ‘बुढो सरिर जनमन गर्न सक्दिन, उनले भने ‘धन्नका छिमेकी पाएको छु ।’ ०४६ सालमा उनले घर बनाउदा गाँउमा उनको मात्र घर काठको थियो । अरु सबै फुस्का थिए । अहिले उनको घर ठिङरिङ्ग काठको त्यो पनि लड्न आटिसकेको छ अरु सबै गाँउका घर पक्कि छन् । मन मनै उनले आफैलाई धिक्कार्दे भन्छन, ‘थुइक्क के दिनमा राजनीतिमा लागेछु ।’

आईतबार उनको घरमा पुग्दा श्रीमती सिढीमा टुक्रुक्क बसिरहेकी थिइन् । साताअघि आएको हुरीले उनको घर हल्लाएर थाङ्गथिलो बनाएको रहेछ । बलेसी नजिकै चुलोमा तरकारी पाकी रहेको थियो । तामाङ भने छिमेकीको घरमा बाँस माग्न गएका रहेछन् । उनले मागेर ल्याएको बाँसबाट निकालेको चोयाले जोड्नी खुस्कीएका घरका बिम र बलो बाध्ने उनले बताए । ‘काँटी कब्जा किन्ने पैसा छैन । अर्को पटक पनि हुरी आयो भने बासस्थान नै उडाइदिन्छ,’ उनले भने ।

परिवर्तनकालागि केपीओलीसंग झापा आन्दोलनमा संगसंगै हिँडेका तामाङ योबेला वृद्ध अवस्थामा पुगेका छन् । उनको घरमा तामाङ्ग दम्पती मात्र बस्छन् । श्रीमती फुलमाया पनि मुटु रोगले थलिएकी छन् । उपचार गर्ने खचै नभएर उनले रोग पालिरहेकी छन् । कान्छो छोरा ललित ७ वर्ष अघि नागालयन भासिएको उसको अत्तोपतो छैन । आँखा भरी आँसु झारेकी फुलमायाले भनिन्, ‘हामी जस्ताको सुखको दिन कहिले आउला ?’

नेपाल पत्रकार महासङ्घका केन्द्रीय प्रतिनिधि दिपिन् राई र अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई ।
कम्युनिष्ट जुन जगमा उभिएर मुलुकमा सासन गर्देछ त्यो जग झापा विद्रोह नै भएको स्थानीय पत्रकार कुमार भट्टराईले बताए । उनले भने, ‘झापा आन्दोलनमा भुमिका खेल्ने योद्धा यतिवेला गाँस, बास र कपास नपाएर प्रताडित छन् । झापा आन्दोलनकै नाइके आजपनि सरकारमा छन् । हिजो किसानका लागि भनेर आवाज उठाउनेहरु फुटपात रहनु विडम्बना हो ।’

एमाले सरकारले जेष्ठ नागरिकलाई सहयोग गर्ने भनेकै छ । राजनीतिक दलको हिसावले नहेर्ने हो भनेपनि तामाङलाई सरकारले बस्ने घर बनाईदिनुको विकप्ल नरहेको उनले बताए ।

हुन त तामाङ दम्पती बस्न योग्य हुने घर निर्माणका लागि स्थानीय पत्रकार पनि लागि परेका छन् । अर्जुनधारा प्रेस क्लवका अध्यक्ष समेत रहेका पत्रकार कुमार भट्टराईलेभने, दातासंग अनुनय विनय गरेरै भएपनि झापा आन्दोलनका योद्धाको घर निर्माण गर्ने योजना बनाएका छौँ । स्थानीय पत्रकारलाई नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि दिपिन राई समेतले सहयोग गर्ने बताएका छन् ।

अर्जुनधारा नगरपालिकाले बासको व्यवस्था नभएका राजनीतिक पीडितलाई प्रजातन्त्र स्थापनाका लागि गरेको योगदानको आधारमा सहयोग गर्न गत वर्षदेखी कार्यक्रम नै ल्याएको छ । गत आर्थिक वर्षमा पालिकाले ५ लाख विनियोज गरेको थियो । तर, खर्च नभएपछि त्यो रकम फ्रिज भएको नगरपालिकाका प्रमुख हरीकुमार रानाले बताए ।

उनले भने, पत्रकार आफैले झापा आन्दोलनका पीडितको घर निर्माण गर्ने योजना ल्याएपछि नगरपालिका पछि हट्ने कुरै आउँदैन ।’ नगरपालिकाले तामाङको घर निर्माणका लागि ३ लाख रुपैयाँ सहयोग गर्ने नगर प्रमुख रानाले बताए ।