कोरोनाको असर : १५ माघ सम्म विद्यालय बन्द, होटल र सिनेमा हल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य

हवाईजहाजमा यात्रा गर्दा अनिवार्य खोप लगाईएको कार्ड

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले १५ माघसम्म विद्यालय बन्द गर्न अनुरोध गरेको छ । त्यस्तै अब होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ ।

आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले होटल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।

उनका अनुसार सार्वजनिक स्थानहरु ९कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि० प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको क्‍याक्सिन कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्‍ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्‍यवस्था मिलाउने गरी यही माघ ३ गतेदेखि लागू गर्ने निर्णय भएको छ ।

आइतबार बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाई उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भीडभाड कम हुने गरी उडान तालिका मिलाउन सीसीएमसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ ।

नेपालमा कोरोना संक्रमण पुनस् बढ्न थालेपछि सरकारले सार्वजनिक स्थलमा भेला हुन र यात्रामा प्रतिबन्धात्मक व्यवस्थाहरु गरेको हो ।