काठमाडौं । कोभिड–१९ संक्रमण रोकथामका लागि बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
विद्यालय बन्द गर्ने निर्णय आजदेखि नै लागू हुने जनाइएको छ । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव रोक्नका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ ।
माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङ मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमा नाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।
प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने गरी बैठकले निर्णय गरेको छ । पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले अरु क्षेत्रभन्दा पहिले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।