बतासलाई नारायणहिटीको जग्गा सेटिङमै : छानबिन समिति

काठमाडौ । पछिल्लो समय सर्वाधिक विवादित रहेको बतास समूहले नारायणहिटी दरबार संग्राहलयको जग्गामा रेष्टुरेन्ट बनाईएको विषमाथि छानबिन भएको छ ।

छानबिन समितिले आज सार्वजनिक गरेको प्रतिवेदनमा उक्त जग्गा सेटिङ (मिलेमतो) मै भएको निष्कर्ष निकालेको छ।

छानबिन समितिले सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई प्रतिवेदन बुझाउँदै ठेक्का प्रक्रियामा सेटिङ भएको जनाएको हो ।

बतास समूहले मनपरी संरचना बनाएको बाहिरिएपछि मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।

नारायणहिटी दरबार संग्रहालय तथा गणगन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले क्यान्टिन सञ्चालनका लागि क्षेत्रफल र स्थानको सीमांकन नगरी जग्गा ओगट्न दिएको समितिले बताएको छ।

विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पूर्वस्वीकृति नलिइकन दरबारको सम्पत्ति प्रयोग गर्न दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

१४ रोपनी जग्गामा बतासले संरचना बनाएको देखिएको समितिले जनाएको छ। यस्तै, सोही ठाउँमा रहेको बंकरको पनि दुरूपयोग गरेको समितिको निष्कर्ष छ ।