उपत्यकामा स्मार्ट लकडाउन लागू

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गरेको छ । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ’स्मार्ट लकडाउन’सहित कडाइ गर्ने निर्णय गरेको हो ।

ललितपुरका सीडीओ घनश्याम उपाध्यायले सीसीएमसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको बताए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचनाअनुसार सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गर्ने, साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने उल्लेख छ । यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म विद्यालय बन्द गर्नेलगायत निर्णय भएको छ ।

एता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको परीक्षणपछि आएको रिपोर्टमा अध्यक्ष नेपाललाई संक्रमण पुष्टि भएको सो पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।